Hi, How Can We Help You?

Author Archives: Nawaraj Regmi

Dhan Ropai

भरतपुर , चितवन असार १५ नेपालीका लागि महत्वपुर्ण चाड हो । म खाना खाएर चितवनको रोपाई कहाँ कहाँ भएको रहेछ भनि स्कुटर लिएर फिल्डमा निस्किए । पानी परिरहेको थियो । र्यानकोट ओडेर भएपनि पश्चिम चितवनतिर हानिए । बाटोमा जाँदै थिए । एउटा दृश्यले मेरो ध्यान खिच्यो । निकै ठुलो संख्यामा बिद्यार्थीहरु धान रोपिरहेका थिए । म त्यहि अडिए । स्कुटरबाट ओर्लेर एक जना हातमा धानको विउ लिएकी नानीलाई सोधिहाले ए नानी, स्कुल नगई यो हिलोमा के गरेकी? जवाफमा उनले भनिन् हामी त धान रोप्ने विधिबारे प्रयोगात्मक रुपमा पढिरहेकै हौ म्याम । त्यसपछि मलाई झन् उत्सुकता लाग्यो र सोधे यसअघि धान रोपेको थिएनौ र उनले भन्नि,मलाई त धान कसरी फल्छ भन्ने पनि थाहा थिएन । ममीले भान्छामा पकाउने चामल त पसलबाट नै आउँछ होला झै लाग्थ्यो,चामल कसरी फल्छ भनेर कहिल्यै कसैलाई सोधेकी पनि थिइन । यसलाई यसरी हिलोमा रोप्नुपर्छ यसबाट धान फल्छ यहि धान कुटेर चामल निकाल्ने हो भन्ने विधि मैले यहाँ आएपछि मात्र थाहा पाए । उनको नाम अविप्स्या कार्की हो उनी अङकुरम् एकेडेमी भरतपुरमा कक्षा ८ मा अध्ययन गर्छिन् । अविप्स्या जस्तै आरोही खनालको अनुभव पनि उस्तै छ म पहिलो पटक यसरी हिलोमा धान रोप्दै छु, अहिलेसम्म धानप्रतिको मेरो बुझाई गलत रहेछ उनले भनिन् । धान त हिलोमा रोपेर पो मलजल गरि फलाउनुपर्ने रहेछ उनले सुनाइन् । आरोहीलाई त केही समय अघि आफुले खाने दुध पनि डेरीले दिन्छ झै लाग्थ्यो रे गाई भैसी पाल्नुपर्छ र दुध दिन्छ भन्ने ज्ञान उनले अङ्कुरम् मा आएपछि मात्र थाहा पाएकी रहिछन् । अविप्स्या र आरोहीजस्ता ७ देखि १० कक्षा सम्मका झन्डै डेढ सय विद्यार्थीहरुलाई धान रोपाई विधिको बारेमा पहिलो पटक जानकारी मिलेको थियो ।

अङ्कुरम् को विशेषता नै यहि हो । विद्यार्थीहरुलाई जुनसुकै विषयबस्तुमा पनि प्रयोगात्मक विधिद्धारा सिकाउनु र उनीहरुलाई महसुस हुनेगरि ज्ञान दिनु । एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेल आफ्ना विद्यार्थीहरु यसबारेमा व्यवहारिक ज्ञान दिन र धानको उत्पादन विधिबारे प्रस्ट पार्नका लागि खेतबारीमै विद्यार्थीहरुलाई लिएर आएको बताउनुभयो । विद्यार्थीहरुलाई रोपाई गर्ने व्यवस्था भने पश्चिम चितवनको गितानगर स्थित विसहजारी फार्म हाउसभित्रको जमिनमा मिलाइएको थियो । मिलिजुली आमा समुहसंगको सहकार्यमा गरिएको उक्त कार्यक्रममार्फत अंङ्कुरम् का विद्यार्थीहरुले प्रयोगात्मक रुपमा धान रोप्ने विधिबारे प्रस्ट हुने पौका पाएका छन् ।

यसरी आफ्नो नातीनातीनी जस्ता बाबु नानीलाई खेतमा संगै राखेर रोप्न सिकाउन पाउँदा मिलीजुली आमा समुहकी अध्यक्ष गोमा सुवेदी फुरुगं हुुनुहुन्थ्यो । धान दिवसले धान खेती र पारस्परिक श्रम प्रयोगको प्रविधि, आपसी प्रतिबद्धता र सांस्कृतिक प्रदर्शनको सन्देश विभिन्न गतिविधिमार्फत झल्काउने देखिन्छ । यो दिनले रोपण अवधिको सुरुवात पनि गर्दछ।

यो दिन देशको सबैभन्दा महत्त्वपूर्ण कृषि अभ्यासहरू मध्ये एकको प्रतीक हो र नेपालीहरूका लागि विशेष दिन हो। नेपाली संस्कृतिमा मनाइने धेरै पर्वहरूमध्ये रोपाइँ दिवसको विशेष राष्ट्रिय महत्व छ । यो पर्व नेपालका ग्रामीण क्षेत्रहरूमा विभिन्न परम्परागत तरिकाले मनाइन्छ, जहाँ कृषि र पशुपालन अझै पनि जीविकोपार्जन र आय आर्जनको प्रमुख पेशा हो। तर शहरबजारमा बसोबास गर्ने विशेषगरी पछिल्लो पुस्ताका बच्चाहरुलाई यो दिवसको महत्वबारे खासै ज्ञान छैन । खेतीयोग्य जमिनहरु सबै प्लटिगं गरेर भौतिक संरचना निमार्ण भइरहेको छन् गाउंका खेतबारी बाँझै छन् यस्तो अवस्थामा पछिल्लो पुस्ताले धान कसरी उत्पादन हुन्छ भन्ने कुरा नै विर्षिरहेका छन् । चामल कहाँबाट आउंछ भनेर सोध्दा कुनै डिपार्टमेन्ट स्टोरको नाम लिने बच्चाहरु धेरै छन् । प्रयोगात्मक रुपमा डिजिटल माध्यमबाट कक्षा सञ्चालन हुदैं आइरहेको अन्तराष्ट्रिय स्तरको विद्यालय अंङ्कुरम् ले धान दिवसको अवसर पारेर विद्यार्थीहरुलाई खेतबारीमै उतारेको हो ।