भरतपुर, ५ असार ।
अङ्कुरम् एकेडेमीमा राष्ट्रिय सेवा दल (एनसिसी) कार्यक्रम शुरुवात भएको छ । एनसिसीबारे बुधबार नेपाली सेना, सबुज गणद्वारा इच्छुक विद्यार्थी र तिनका अभिभावकलाई विद्यालयको सभाकक्षमा प्रबोधिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
नयाँ सबुज गण, भरतपुरका सहसेनानी अमितराज ठकुरी, जमदार आसन थपलिया, प्रशिक्षकत्रय अमित विक, हरिराम थारु, सूर्य राईलगायतको टिमले विद्यार्थीहरुको छनोट प्रकृया सम्पन्न गरेको छ । सहप्राचार्य एवम् एनसिसि समन्वय–शिक्षक ओमराज मैनालीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्राचार्य सुमन पौडेल र निर्देशक नईम चौधरीले शुभकामना मन्तव्य राख्दै विद्यालयमा नेपाली सेना अन्तर्गत राष्ट्रिय सेवा दल कार्यक्रम समग्र विद्यालय परिवारको लागि गौरवको विषय भएको बताए ।
विद्यार्थीहरुलाई अनुशासन, देशभक्ति र समग्र रुपमा वैयक्तिक विकास गराउने काम एनसिसिले दिने कुरामा दुइमत नरहेको प्राचार्य सुमन पौडेलले बताए । नयाँ सबुज गण, भरतपुरका सह–सेनानी अमितराज ठकुरीले विस्तृत रुपमा राष्ट्रिय सेवा दल (एनसिसि) बारे प्रस्तुतिकरण गरेका थिए ।
पुरानो मेडिकल कलेज (सिएमएस) का मेडिकल अधिकृतद्वय डा. प्रल्हाद र डा. चन्द्रशेखरको मेडिकल टिमद्वारा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्दै मापदण्ड पूरा भए–नभएको प्रमाणीकरण गरेका थिए ।
कक्षा ८–१० मा अध्ययनरत १८ जना छात्र र १८ जना छात्रा छनोट गर्नुपर्ने प्रावधान अनुरुप कडा प्रतिस्पर्धा रहेको र असार १४ गतेदेखि प्रशिक्षण शुरु हुने सहप्राचार्य मैनालीले बताए ।