चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा सोमबार ‘स्क्र्याबल’ अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा चितवन र नवलपुरका संस्थागत तथा सामुदायिक विद्यालयका ९८ शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
‘स्क्र्याबल’ भनेको बालबालिकालाई स्बोर्डमा ‘पजल’मार्फत अक्षरहरुको संयोजन गरेर अंग्रेजी शब्द निर्माण गर्न सिकाइने पद्दति हो । कार्यक्रममा ‘स्क्र्याबल’ क्लब नेपालका प्राविधिक संयोजक तथा राष्ट्रिय प्रशिक्षक अर्जुन पाण्डेले अभिमुखीकरण गरेका थिए । स्क्र्याबल क्लब नेपाल चितवनलगायत २६ जिल्लामा क्रियाशील रहेको स्क्र्याबल क्लब नेपाल चितवनका संयोजक ओमराज मैनालीले जानकारी दिए ।
यो ‘एनाग्राम’ र ‘क्रसवर्ड’हरू संयोजन गर्ने खेलको एउटा ‘ब्राण्ड नेम’हो, जसमा दुईदेखि चार जनासम्म खेलाडीहरुले शब्दहरु निर्माणका लागि विभिन्न बिन्दुमानहरुको ‘काउन्टर’ प्रयोग गर्ने गर्छन् भने साधारणतया दुई जनाकोबीचमा खेल हुने कार्यक्रम संयोजक मैनालीले बताए ।
एउटा विद्यालयबाट एक जना शिक्षक र दुई जना विद्यार्थीको सहभागिता रहेको सो अभिमुखीकरण कार्यक्रमको संयोजन ओमराज मैनालीले गरेका थिए भने विद्यालयका निर्देशक नईम चौधरी र स्काइ राइडर स्कुल रत्ननगर, टाँडीका परियोजना प्रमुख गोपीलाल श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । आगामी असोज १ गते जिल्लास्तरीय ‘स्क्र्याबल च्याम्पियनसीप’ आयोजना गरिने विद्यालयले जानकारी दिएको छ ।