चितवन । चितवनमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालित चितवनको ‘ए’ ग्रेडको विद्यालय अङ्कुरम् एकेडेमीमा ‘बालबालिकाको सिकाइ र वृद्धिका लागि सन्तुलित र सकारात्मक घर निर्माण’सम्बन्धी एकदिने अभिभावक अभिमुखरीकरण सम्पन्न भएको छ ।
‘एजुकेसन फर द नेक्स्ट जेनेरेसन’ का कार्यकारी अधिकृत कविता अर्यालले बालबालिकाको समुचित विकासका लागि अत्यावश्यक सूत्रहरु समेटिएको फलदायी अभिभावक–केन्द्रित तालिम प्रदान गरेकी थिइन् ।
विद्यालयमा सञ्चालित अभिमुखीकरण कार्यक्रममा बालबालिकाको सर्वाङ्गीण विकासका लागि उनीहरुको उचित हेरचाहलाई केन्द्रबिन्दुमा राखेर अभिभावकले काम गर्नुपर्ने बताउँदै अर्यालले भनिन्– ‘अभिभावक समस्या होइन समाधानको हिस्सा बन्नु पर्छ ।’ उनीहरुको भविष्य कस्तो बनाउने भन्ने कुरा हाम्रो व्यवहारमा भर पर्छ, उनले भनिन्, ‘बालबालिकाले आमाबाबुको व्यवहारलाई पछ्याउँछन्, तिनीहरु आफ्ना आमाबाबुको फोटोकपीजस्तै हुन्, हामीले प्रयोग गर्ने शब्दहरू, हाम्रा अभिव्यक्ति र प्रतिक्रियाहरुमार्फत उनीहरुले सिकिरहेका हुन्छन् ।’
अहिले समय फेरिइसकेको बताउँदै उनले अहिलेका ‘जेन अल्फा’ पिढींका बालबालिकालाई सम्झाउन वा उनीहरुबाट पुरानो समयको जस्तै आज्ञाकाकारिताको आशा गर्न नसकिने तर विद्यालय र अभिभावकको प्रयासले जिम्मेवार वा जवाफदेही भने बनाउन सकिने बताइन् । बच्चालाई दबाब दिन नहुने बताउँदै उनले अध्ययनको मह¤व बुझाएर पढ्न लगाए मात्र फलदायी हुने बताइन् ।
बालबालिकाको वृत्ति विकासका लागि विद्यालयसँग कुनै जादुको छडी नहुने बताउँदै प्रशिक्षक अर्यालले यसमा अभिभावक, शिक्षक र बालबालिका सबैले मिलेर काम गर्नुपर्ने बताइन् । अभिभावकहरुलाई विभिन्न व्यवहारिक अभ्यासमार्फत् प्रशिक्षण प्रदान गरिएको उक्त कार्यशालामा बालबालिकाको पालनपोषण र उनीहरुलाई हुर्काउन आमा र बुबाको भूमिका मह¤पूर्ण हुने भन्दै उनले भनिन्, ‘महिलाको स्वर नरम हुन्छ, स्पर्श नरम हुन्छ जसलाई सानो बच्चाले मन पराउँछ ।’ उनले ज्ञान फराकिलो पार्न कि त किताब पढुनुपर्छ या भ्रमण गर्नुपर्छ भन्दै घरमा अभिभावकले पनि पढ्नुपर्ने र बालबालिकालाई पनि पढ्न प्रोत्साहन गर्नुपर्ने बताइन् ।
आफ्ना बालबालिकालाई अन्य बच्चाहरुसँग तुलना गर्दा नकारात्मक असर पर्ने बताउँदै उनले बच्चाहरुप्रति कहिल्यै पनि नकारात्मक टिप्पणी गर्न नहुने बताइन् । उनले अधिकांश बालबालिकामा समस्याको रुपमा रहेको ‘जङ्क फुड’प्रतिको आकर्षण पूर्णरुपमा हटाउन घरमा बनाइएका खानामा जोड दिनुपर्ने बताइन् । उनले बालबालिकाको उक्त बानी विस्तारै–विस्तारै हटाउन सकिने बताइन् । उनले भनिन्, ‘हामीमा समानुभूति हुनु आवश्यक छ र मानव हुनुको नाताले अरुको हेरचाह गर्न पर्छ ।’
Published by: Nawaraj Regmi


