Hi, How Can We Help You?

Blog

April 5, 2024

प्रयोगात्मक सिकाइको आम्दानीले अटिजम भएका बालबालिकालाई सहयोग

भरतपुरस्थित अंकुरम एकेडेमीका विद्यार्थीहरूले प्रयोगात्मक सिकाइको आम्दानीले अटिजम भएका बालबालिकालाई सहयोग गरेका छन्। अटिजम स्नायु र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने समस्या हो। भरतपुर–१० मा रहेको भरतपुर बालमन्दिर अटिजम विशेष विद्यालयमा अध्ययनरत बालबालिकालाई शुक्रबार झोला वितरण गरिएको हो।

अंकुरम एकेडेमीमा कक्षा १२ मा पढ्ने विद्यार्थीहरूले गत साउनमा राखी बनाएर बिक्री गरेका थिए। ६८ जना विद्यार्थीहरूले तयार पारेका ९ सय वटा राखी बेच्दा एक लाख ७९ हजार रूपैयाँ नाफा भएको थियो। भरतपुर बालमन्दिर अटिजम विशेष विद्यालयमा ३८ जना विद्यार्थीहरू पढ्छन्। २०७८ भदौमा स्थापना भएको यो देशकै पहिलो अटिजम विशेष विद्यालय हो। यो विद्यालय भरतपुर महानगरपालिका, नेपाल बाल संगठन चितवन र अटिजम केयर सोसाइटीको त्रिपक्षीय समझदारीमा स्थापना भएको हो। महानगरले यसको सञ्चालनमा सहयोग गरेको छ। विद्यालयको संरक्षण र व्यवस्थापन नेपाल बाल संगठन, चितवनले गर्छ।

अंकुरम एकेडेमीको व्यवस्थापन संकायकी कार्यक्रम संयोजक श्रद्धा अधिकारीले विद्यार्थीको प्रयोगात्मक सिकाइबाट नाफा भएको रकमले पशु कल्याणका लागि काम गर्ने संस्था हिमालयन एनिमल रेस्क्यू ट्रस्ट, देवघाटस्थित समाज कल्याण केन्द्र वृद्धाश्रम, बालबालिकाको पुनर्स्थापनामा काम गर्ने संस्था आमाको घर र अटिजम विशेष विद्यालयमा सहयोग गरिएको जानकारी दिइन्। ‘व्यवस्थापन संकायमा पढ्ने विद्यार्थीहरूलाई कम्तीमा हाम्रो बजारको अवस्थाबारे थाहा हुनुपर्छ। ग्राहकको प्रतिक्रियाबारे उनीहरूले जान्नुपर्छ भनेर १२ कक्षामा पढ्ने विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइका लागि प्रोत्साहन गर्ने गरेका छौं,’ अधिकारीले भनिन्, ‘सुरूमा लगानी स्कुलले गर्‍यो। विद्यार्थीहरूले कच्चा वस्तु किनेर राखी उत्पादन गरे। अनि बजार लगेर बिक्री गरे।’

विद्यार्थीहरूलाई ९ वटा समूहमा विभाजन गरेर बजार पठाएको अधिकारीले बताइन्। ‘नारायणगढ, रत्ननगर, सौराहा, चनौली लगायतका बजार पुगेर विद्यार्थीहरूले आफ्ना उत्पादन बिक्री गरे। त्यो क्रममा उनीहरूले बजारलाई बुझ्ने अवसर पाए। ग्राहकको प्रतिक्रिया कस्तो हुन्छ भन्ने कुरा थाहा पाए,’ अधिकारीले भनिन्, ‘हामीले विद्यार्थीमा किताबी ज्ञानभन्दा माथि उठाएर प्रयोगात्मक सीपको विकास गर्ने प्रयास गरेका हौं।’ कक्षा १२ मा अध्ययनरत सञ्चिता क्षेत्रीले पढाइसँगै व्यवसाय र बजारलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्राप्त गरेको बताइन्। ‘साथै आफ्नै आम्दानीले विभिन्न संस्थाहरूलाई सहयोग गर्न पाइयो,’ उनले भनिन्।

एकेडेमीका निर्देशक नवराज पौडेलले कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीका लागि यसरी प्रयोगात्मक सिकाइमा प्रोत्साहन गरिएको बताए। उनीहरूले पढाइ पूरा गर्दैगर्दा कक्षा ११ का विद्यार्थीलाई पनि सिकाउने पौडेलले बताए। ‘अन्य संकायका विद्यार्थीलाई पनि प्रयोगात्मक सिकाइमा प्रोत्साहन गर्ने गरेका छौं। राम्रो गर्नेलाई पुरस्कृत गर्छौं। यसले उनीहरूको क्षमता विकासमा सघाउँछ,’ उनले भने। अटिजम विशेष विद्यालयकी प्रधानाध्यापक कोपिला भट्टले अटिजम भएका बालबालिकाहरूका लागि प्रोत्साहन र सहयोग आवश्यक रहेको बताइन्।

नेपाल बाल संगठन चितवनकी सहसचिव अमृता भट्टराईले अटिजम विशेष विद्यालय सञ्चालन गर्न भरतपुर महानगरपालिकाले महत्वपूर्ण सहयोग गरे पनि विद्यालय सञ्चालनका क्रममा शैक्षिक सामग्री, खाना लगायतको व्यवस्थापनमा कठिनाइ हुने गरेको बताइन्। ‘दुई जना अटिजम भएका बालबालिकाका लागि एक जना शिक्षक आवश्यक पर्छ। त्यसअनुसार शिक्षकको व्यवस्थापन गर्न सकिएको छैन। बालबालिकाका लागि खाना, खाजाको उचित व्यवस्था गर्न सकिएको छैन,’ उनले भनिन्, ‘यति हुँदाहुँदै पनि यो नेपालकै पहिलो अटिजम विद्यालय हो। यो विद्यालयका कारण अटिजम भएको धेरै बालबालिकालाई सेवा दिन सकिएको छ।’

यस विद्यालयमा भरतपुर महानगरले एक जना दरबन्दीको शिक्षक, २ जना स्वयंसेवक शिक्षक, २ जना आया र एक जना कार्यालय सहयोगीको व्यवस्था गरेको छ।

सेतोपाटी संवाददाता
चितवन, चैत २३

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*