Hi, How Can We Help You?

Category Archives: Events

भरतपुर, १७ माघ
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर क्षेत्रमा क श्रेणीको संस्थागत स्कुलको रूपमा अङ्कुरम् एकेडेमी रहेको बताएकी छन् । युग सुहाउँदो र गुणस्तरीय शिक्षा प्रदान गरेर यस स्कुलले भरतपुरको गरिमा बढाएको पनि उनले बताइन् ।

३२ औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई मंगलबार सम्बोधन गर्दै नगरप्रमुख दाहालले अभिभावकले खोजेजस्तो विद्यालयको रूपमा अङ्कुरम् रहेको बताइन् । ‘अहिले बाहिरी जिल्लाबाट पनि चितवनमा पढ्न आउने गरेका छन्’, दाहालले भनिन्, ‘केही समय अघिसम्म राम्रो शिक्षाका लागि काठमाडौं ताक्ने अभिभावकले अङ्कुरम् एकेडेमी सञ्चालनमा आएपछि यो स्कुल धेरैको रोजाईमा परेको छ ।’

जिल्लाका अन्य विद्यालयले पनि अङ्कुरम्ले जस्तै स्तरीय शिक्षामा जोड दिनुपर्ने दाहालको भनाइ थियो । सरकारले सरकारी विद्यालयका लागि आवश्यक मात्रामा सहयोग गरिरहेको अवस्थामा पनि निजी विद्यालयलाई पनि आवश्यक सहयोग गर्न महानगर तयार रहेको नगरप्रमुख दाहालले बताइन् ।

त्यसैगरी प्याब्सनका केन्द्रीय उपाध्यक्ष कुमार घिमिरेले अभिभावकले आफ्नो रोजाईको विद्यालयमा आफ्ना विद्यार्थी पढाउन पाउनुपर्ने बताएका छन् । अङ्कुरम् एकेडेमीको ३२औँ अभिभावक भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले राज्यले शिक्षामा प्रशस्त लगानी गरे पनि विद्यालयको अवस्थामा सुधार आउन नसकेको बताए । ‘दुई चार जना व्यक्तिको टिमले सुविधासहितको निजी विद्यालय सञ्चालन गर्न सक्छन् भने राज्यले लगानी गरेको सरकारी विद्यालयको अवस्थामा किन सुधार आउन सक्दैन । अभिभावकले किन निजी विद्यालय नै रोजाईमा पार्छन्’, घिमिरेले भने, ‘राज्यले गर्ने लगानीले सरकारी स्कुलमा सुधार ल्याउन सक्छ, सरकारले चाहेमा हामी सघाउन तयार छौँ ।’ घिमिरेले चितवनमा अङ्कुरम् एकेडेमीले गुणस्तरीय शिक्षामा जिम्मेवार भूमिका निभाउन सफल भएको पनि बताए ।

दुई दिनसम्म उत्सव
अङ्कुरम् एकेडेमीले ३२औँ वार्षिकोत्सव दुई दिनसम्म मनाएको छ । एकेडेमीका प्राचार्य सुमन पौडेलले सोमबार कक्षा १ देखि ५ सम्मका विद्यार्थी र तिनका अभिभावकलाई सहभागी गराई वार्षिकोत्सव मनाइएको थियो भने मंगलबार कक्षा ६ देखि १२ सम्मका विद्यार्थी र तिनका अभिभावक सहभागी थिए । दुई दिन पालैपालो विद्यार्थीले आफ्ना अभिभावकका अगाडि गीत र नृत्यको सांगीतिक प्रस्तुति दिएका थिए ।

गुणस्तरीय शिक्षा नै अङ्कुरम्को चाहना रहेको बताउँदै प्राचार्य पौडेलले भने, ‘बाहिरबाहिर अङ्कुरम्को शुल्क महँगो भन्ने हल्ला पनि सुनियो । हामीले दिने गुणस्तरीय शैक्षिक सेवाको तुलनामा शुल्क महँगो छैन । हामीले विद्यार्थीलाई उनीहरुको रुचि अनुसार स्वीमिङ, फुटसल, मयुजिक, डान्स, कराँतेलगायतमा सम्बन्धित विषयका दक्ष र व्यावसायिक प्रशिक्षकबाट प्रशिक्षण दिने व्यवस्था मिलाएका छौँ । यसलाई हेर्ने हो भने शुल्क महँगो भन्न मिल्दैन ।’

चितवन – भरतपुर महानगरपालिका ७ स्थित अंकुरम एकेडेमीमा फुड फेस्टिवल सम्पन्न भएको छ ।
स्कुलको वार्षिक कार्यतालिका अन्तर्गत आज (बिहीबार) फुड फेस्टिवल आयोजना गरिएको हो । दिउँसो १ देखि बेलुकी ५ बजेसम्म आयोजित फेस्टिवलमा स्कुलको कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुको १४ वटा स्टल रहेका थिए ।


ती स्टलहरुमा विद्यार्थीहरुले सामान्य रेष्टुरेन्टमा पाइने फरक फरक परिकारका खाना बनाएर अभिभावक तथा अवलोकनकर्ताहरुलाई खुवाएका थिए । विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा प्रदान गर्नका लागि कार्यकम आयोजना गरिएको स्कुलका तह प्रमुख अर्जुन शर्माले जनाकारी दिए ।

विद्यार्थी आँफैले खानाका परिकार तयार गरेको हुँदा खाना बनाउन लाग्ने मेहेनत र खानाको महत्त्व बारे बुझ्न पनि कार्यक्रमले मद्घत मिल्ने उनको भनाइ छ । वर्षभरी अभिभावकले बनाएको खाना खाने विद्यार्थीले एक दिन आँफैले खाना बनाएर अभिभावकलाई खुवाउने दिनको रुपमा पनि यसलाई लिईएको उनले बताए ।


 



कार्यक्रमले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुलाई व्यापार व्यवसायमा सन्तुलन कायम गर्ने बारे व्यवहारिक ज्ञान प्राप्त हुने अपेक्षा छ । खाना बनाउनका लागि आवश्यक सामाग्रीको प्रवन्ध विद्यार्थीहरुले स्वयंले गरेका थिए ।

कार्यक्रममा खानाका स्टलसँगै साँस्कृतिक प्रस्तुति पनि थियो । स्कुलका १३ वटा समूह, तीन वटा ब्याण्ड र स्कुल बाहिरको द नोटेसनले आ-आफ्नो प्रस्तुतिमार्फत सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । यस्तै सोही कार्यक्रम मार्फत गुरुङ समुदायले मनाउने तमू ल्होसारको शुभकामना आदानप्रदान पनि गरिएको थियो ।



कार्यक्रममा स्कुलका शिक्षक, विद्यार्थी, अभिभावक र अन्य स्कुलका प्रतिनिधि गरी एक हजार ५०० भन्दा बढी सहभागी थिए । स्कुलले गत वर्षबाट फुड फेस्टिवल आयोजना गर्न सुरु गरेको हो ।

चितवन, २५ कात्तिक –

चितवनको भरतपुरमा एकैपटक कराँतेका ३८० खेलाडीको स्तरवृद्धि गरिएको छ । नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनको आयोजनामा भरतपुरको अङ्कुरम एकेडेमीका ३८० खेलाडीको स्तरवृद्धि गरिएको हो ।

कमिटीका सचिव सुजन दराईकाअनुसार खेलाडीको स्तरवृद्धिमा कक्षा ३ देखि कक्षा ९ सम्मका खेलाडीहरु सहभागी थिए । आज शुक्रबार विद्यालयमा आयोजना गरिएको कराँते स्तरवृद्धिमा ह्वाइट बेल्डबाट ओरेन्ज बेल्डमा ३६० जना र ओरेन्ज बेल्डबाट ओरेन्ज–ग्रिन बेल्डमा २० जना खेलाडी दीक्षित गरिएको दराईको भनाइ छ । खेलाडीहरुको स्तरवृद्धि तथा दीक्षन्त कार्यक्रममा तीन छात्र तथा तीन छात्रा गरी उत्कृष्ट छ खेलाडीलाई सम्मान गरिएको छ ।

कराँते महासंघ टेक्निकल कमिटी चितवनकी उपाध्यक्ष एवं अङ्कुरम एकेडेमीकी कराँते प्रशिक्षक जस्मिना खड्काकाअनुसार छात्रतर्फ सोहन दाहाल, संयन श्रेष्ठ र नवनित वर्मा तथा छात्रातर्फ अनाघा श्रेष्ठ, प्रत्युषा श्रेष्ठ र अभिन्या कार्की उत्कृष्ट भएका छन् । कराँते खेलाडीहरुको स्तरवृद्धि कार्यक्रममा कराँते महासंघ टेक्निकल कमिटी चितवनका अध्यक्ष टार्जन श्रेष्ठले नेपालमै पहिलो पटक धेरै खेलाडीहरु एकसाथ दीक्षित भएको बताए । हालसम्मकै सबैभन्दा बढी खेलाडीहरुको एकैपटक शुक्रबार स्तरवृद्धि गरिएको भन्दै श्रेष्ठले खेलाडीहरुलाई उत्कृष्ट हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विजेता हुन हौसला प्रदान गरेका छन् ।

कराँते खेलाडीहरुको स्तरवृद्धि कार्यक्रममा अङ्कुरम एकेडेमीका प्रिन्सिपल सुमन पौडेलले स्वागत मन्तव्य राखेका थिए । आज शुक्रबार दीक्षित भएका खेलाडीहरुलाई एकेडेमीका प्रिन्सिपल सुमन पौडेल सहित कराँते महासंघ टेक्निकल कमिटी चितवनका अध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक टार्जन श्रेष्ठ, सुदिर श्रेष्ठ, अमर श्रेष्ठ, तीर्थराज श्रेष्ठलगायतले मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

चितवन । भरतपुर महानगरपालिका ७ स्थित अंकुरम एकेडेमीमा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विश्व विज्ञान दिवसको अवसरमा स्कुल परिसारमा नै आज (बिहीबार) एक दिने विज्ञान प्रदर्शनी आयोजना भएको हो । प्रदर्शनीमा स्कुलको कक्षा १ देखि १२ सम्मका विद्यार्थीले निर्माण गरेको सामाग्रीहरु प्रदर्शन गरिएको थियो ।

विद्यार्थीहरुले दैनिक जीवनमा प्रयोगमा आउने सामाग्रीहरु तयार पारेर प्रदर्शन गरेका थिए । स्कुलको साइन्स एण्ड रोबर्ट्स क्लबका विद्यार्थीहरुले इलेक्ट्रिक र रोबर्ट कारदेखि, फायर अलार्म, वाटर अलार्म, स्वचालित सवारी साधन, स्मार्टसिटीलगायत निर्माण गरी प्रदर्शन गरेको स्कुलका लेभल हेड तथा प्रदर्शनी कार्यक्रम संयोजक अर्जुन शर्माले जानकारी दिए । ती सबै सामाग्रीहरु विद्यार्थीले एक हप्तामा तयार पारेको उनले बताए ।

उनका अनुसार विद्यार्थीहरुले एक सय ८० भन्दा बढी फरक फरक प्रोजेक्ट तयार परेका थिए । स्कुलका एक हजार भन्दा बढी विद्यार्थी र अभिभावकहरुले प्रदर्शनीको अवलोकन गरेका थिए । यस्तै अन्य बिभिन्न १५ विद्यालयका एक सय ५० भन्दा बढी विद्यार्थीहरुले पनि प्रदर्शनी अवलोकन गरेका थिए ।

विद्यार्थीले विज्ञान सम्बन्धी दक्षता हासिल गर्न सक्षम बनून् भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । स्कुल हरेक वर्ष विश्व विज्ञान दिवसको अवसरमा प्रदर्शनी आयोजना गर्ने गरेको छ । यसले विद्यार्थीमा प्रयोगात्मक ज्ञान बढाउन मद्धत मिल्ने स्कुलको विश्वास छ । क्रियाकलापमा आधारित शिक्षालाई अंकुरमले जोड दिँदै आएको छ ।

चितवन – अङ्कुरम् स्काउट ट्रुपको आयोजना तथा अङ्कुरम् एकेडेमी चितवनको सहयोगमा अन्तरविद्यालय स्काउट रनिङ्ग शिल्ड नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सनराइन इग्लिस स्कुल प्रथम , ग्रिनल्याण्ड इङ्गिलस स्कूल द्धितिय र एकता शिशु निकेतनका विद्यार्थीहरुले तृतीय स्थान हासिल गरे । प्रथम हुने समुहले १० हजार नगद सहित रनिङ्ग शिल्ड प्राप्त गर्यो भने द्धीतिय हुनेले ७५सय र तृतीय हुनेले नगद ५हजार पुरस्कार राशी प्राप्त गरे । प्रतियोगितामा मुग्लिगं देखि माडी सम्मका २० वटा विद्यालयका करिब १४० विद्यार्थीहरुको सहभागी रहेको थियो ।

हरितालिका तिजको अवसर पारेर नेपाली कला र संस्कृतिको संरक्षण संगै विभिन्न विद्यालयको स्काउट विद्यार्थीहरुको मित्रता कायम गर्ने उद्धेश्यले कार्यक्रम गरिएको एकेडेमीका परीक्षा प्रमुख सदिक्षा पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा बज्रयोगा तथा डान्स एकेडेमीका निर्देशक पुष्प श्रेष्ठ र अङ्कुरम् एकेडेमीका नृत्य प्रशिक्षक निरा गुरुङ्गले निर्णायकको भुमिका निभाउनु भएको थियो ।

पठनपाठन साथसाथै अतिरिक्त कृयाकलापलाई पनि अन्तर्राष्ट्रिय स्तरबाट संचालन गर्दै आइरहेको यस एकेडेमीले मासिक तथा वार्षिक रुपमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।अङ्कुरम् एकेमीका स्तर प्रमुख अर्जुन जि शर्माले सञ्चालन गर्नुभएको सो कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एवं सामाजिक समन्वय समितीका संयोजक परमेश्वर खनाल रहनुभएको थियो । कार्यक्रममा प्याब्सन केन्द्रिय समितिका सदस्य मोहन लामा, स्काउट रोवर लिडर तथा स्काउटर सि.ए.एल.टि शिव प्रसाद बराल , एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेल लगायतको सहभागिता रहेको थियो ।







चितवन । स्थापना कालदेखि नै विद्यार्थीहरुलाई डिजिटल माध्ययम अनि प्रयोगात्मक शैलीबाट अन्तर्राष्ट्रियस्तरको शिक्षा दिँदै आएको अङ्कुरम् एकेडेमीले विद्यार्थीहरूलाई किताबी किरो मात्र नबनाई व्यवहारिक रूपमा शिक्षण सिकाई गर्ने अभिप्रायले आज २०७९ भाद्र १० गते शुक्रबारका दिन बिहान ११ देखि दिउसो ४ बजेसम्म गणित प्रर्दशनीको आयोजना गर्यो ।

कार्यक्रममा विद्यालयका कक्षा १ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीहरू रचनात्मक प्रस्तुतिमा ब्यस्त देखिन्थे । प्रर्दशनीमा प्रर्दशन गराइएका सम्पूर्ण सामग्रीहरू विद्यार्थी स्वयम्ले निर्माण गरेका थिए । यस प्रदर्शनीमार्फत बालबालिकाहरूले गणितलाई बोझ र अप्ठ्यारो विषयका रूपमा नलिई रमाइलो खेलको रूपमा प्रर्दशन गर्दा सहभागी सबैलाई थप हौसला मिलेको थियो । प्रर्दशनीमा चितवन जिल्लाका १०० भन्दा बढी विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीले अवलोकन गरेका थिए । यस्ता खालका प्रर्दशनीले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने तथा सृजनशील बनाउने कुरा विज्ञ अभिभाभकहरूले बताए ।

यस्ता सृजना तथा परियोजना कार्यले शिक्षण शिकाई रुचिकर अनि प्रभावकारी हुने तथा भविष्यमा विद्यार्थीहरू आफ्नो विषयमा अब्बल हुने कुरा विद्यार्थी तथा अभिभावकहरूले आत्मसात गरेको छन् । यस्ता खालका परियोजनाहरू समय समयमा सञ्चालन गराइँदा विद्यार्थीहरुलाई अझै सिर्जनशील बनाउन सकिने भएकाले आगामी दिनमा पनि यस्ता कार्यहरू सञ्चालन गर्ने विद्यालयको योजना भएको कुरा यसै एकेडेमीका कार्यकारी निर्देशक युवराज पौडेलले बताउनुभयो ।







चितवन, साउन ४ –
चितवन स्मार्ट क्रीउको आयोजना तथा भरतपुर महानगर स्काउटको समन्वय र अंकुरम एकेडेमी भरतपुरको विशेष सहयोगमा संचालित दुई दिवसीय स्मार्ट स्काउट प्याट्रोल लिडर तालिम भरतपुरको अङ्कुरम एकेडेमीमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन क्याम्प फायर सत्रमा स्मार्ट क्रीउका अध्यक्ष शिह बहादुर कुवरको सभापतित्व तथा महानगरका उपप्रमुख महानगर स्काउटका प्रमुख स्काउट चित्रशेन अधिकारिको प्रमुख आतिथि, महानगर स्काउटका संयोजक स्काउटर रोभर लिडर शिबप्रसाद बराल, महानगर स्काउटका सचिब अर्जुन मडै, महानगर प्याब्सनका प्रमुख लेखनाथ खनाल, इस्टु चितवनका अध्यक्ष जनकराज घिमिरे, बीइएसएसका अध्यक्ष इन्द्रेश शाह सामुदायिक विद्यालयका प्रतिनिधि शिक्षक बिन्दु पौडेल अङ्कुरम स्कुलका बोर्ड मेम्बरहरु आदरणीय नवराज पौडेल, देवि पौडेल, प्राचार्य सुमन पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।

विभिन्न २३ वटा विद्यालय माडी, इच्छाकामना र रत्ननगर बाट गरी २५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागी प्याट्रोल लिडर स्काउटहरुले २ दिनमा स्काउटको इतिहास, जन्मदाताको जिवनी, गाठोको प्रयोग र प्रकार, वाग्स, वोस्म, नेपाल स्काउटको मिसन भिजन , प्याट्रोल ट्रप सञ्चालन, नियम प्रतिज्ञा, माइल्स्टोन ट्राफिक सचेतना यश गल मोभ्मेन्ट, प्राथमिक उपचार तालिम विभिन्न एक्शन गीत, बीपी व्यायाम लगायत विविध विषयमा जानकारी लिँदै फुटसल र स्विमिङ्गको आनन्द लियर बिदा हुनुभएको थियो ।