भरतपुर । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा अभिभावकहरुलाई प्रशिक्षण दिइएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूका लागि छुट्टाछुट्टै आयोजित कार्यक्रममा असल अभिभावक बन्न गर्नुपर्ने र गर्न नहुने व्यवहारबारे तथ्यसहित प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमका प्रशिक्षक सेन्ट जेभियर्स स्कुलका पूर्वप्रधानाध्यापक जोसेफ निरौलाले एक्काइसौँ शताब्दीको युगमा अभिभावकहरूलाई पारम्पारिक मूल्यहरू र आधुनिक प्रविधिहरूसँग जुध्नु परेको बताए । ‘बदलिँदो युगमा अभिभावकत्व एक जटिल कार्य बनेको छ, जहाँ बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक विकासका लागि सही मार्गदर्शन प्रदान गर्नु महत्त्वपूर्ण छ’, उनले भने ।
सामाजिक सञ्जाल, स्मार्टफोन, ट्याब्लेट, कम्प्युटर र इन्टरनेटको अधिक प्रयोग किशोरकिशोरीहरूमा नयाँ चुनौतीको रूपमा देखा परेको बताउँदै प्रशिक्षक निरौलाले छोराछोरीमा ‘स्क्रिन टाइम’को नियन्त्रण गर्न अभिभावकहरूलाई कठिनाईं भइरहेको बताए । उनले स्मार्टफोनको अत्यधिक प्रयोगले किशोरकिशोरीकोे सामाजिक, शैक्षिक तथा मानसिक विकासमा असर पुर्याउने हुनाले अभिभावक यसप्रति सचेत हुनुपर्ने बताए ।
प्रशिक्षण कार्यक्रममा २१ औँ शताब्दीमा अभिभावकलाई शैक्षिक तथा मानसिक स्वास्थ्यमा एकैसाथ ध्यान दिने चुनौती रहेको बताइएको थियो ।
विद्यालयका प्राचार्य सुमन पौडेलले स्वागत गरेको कार्यक्रममा विद्यालयका प्लस टु निर्देशक डा. आरएन खनालले शैक्षणिक गतिविधि र आचारसंहिताका बारेमा जानकारी गराएका थिए ।
आवासीय निर्देशक नइम चौधरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन प्लस टु संयोजक अर्जुनबाबु दौलियाले गरेका थिए भने कार्यक्रम सञ्चालक समिति अध्यक्ष आनन्दबहादुर चन्दको सभापतित्वमा सम्पन्न भएको थियो ।
Published by: Nawaraj Regmi


