भरतपुर : भरतपुर–७ स्थित अङ्कुरम् एकेडेमीले कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको नयाँ नेतत्वअन्तर्गत नमूना निर्वार्चनमार्फत ५२ जना निर्वाचित हाउस क्याप्टेन तथा भाइस क्याप्टेन र मनोनीत ‘क्लास प्रिफेक्ट’हरूका लागि नेतृत्व विकास कार्यशाला तथा पदस्थापन समारोह दासढुंगास्थित होटल अशोकामा शनिबार सम्पन्न गरेको छ।
वरिष्ठ संचारकर्मी एवं नेतृत्व विकास तालिम प्रशिक्षक सोफिया महर्जन कार्कीले विद्यार्थीहरूको नवनिर्वाचित नेतृत्वलाई प्रशिक्षण दिएकी थिइन् । तह प्रमुख (लेवल हेड) अर्जुन शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य सुमन पौडेलले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा विद्यार्थीहरू विभिन्न समूहमा विभाजित भई सहकार्यमूलक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न गरेका थिए।
कार्यक्रमको दोस्रो सत्रमा ‘इन्भेस्टिचर सेरेमोनी’ अर्थात पदस्थापन तथा ब्याच वितरण समारोहअन्तर्गत ५२ जना विद्यार्थीहरूको नवनेतृत्वलाई विद्यालयका निर्देशक नैम चौधरी, प्राचार्य सुमन पौडेल र सह–प्राचार्य ओमराज मैनालीले ब्याच तथा प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रमको ‘फन टाइम’अन्तर्गत विभिन्न किसिमका मनोन्जनात्मक खेल एवं पौडी प्रतियोगितासमेतको आयोजना गरिएको थियो ।