June 13, 2025

अङ्कुरम् एकेडेमीमा पहिलोपटक ‘टेडएक्स इभेन्ट’

भरतपुर । भरतपुर–७, कृष्णपुरमा रहेको अङ्कुरम् एकेडेमीले काठमाडौँ उपत्यकाबाहिर नेपालमै पहिलोपटक विद्यालयस्तरमा ‘टेडएक्स इभेन्ट’को आयोजना गरेको छ ।

प्रविधि, मनोरञ्जन र डिजाइन (टेड) एक गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्था हो । जसले विश्वव्यापीरूपमा प्रचारयोग्य नवीन विचारहरूको प्रचार गर्दछ । अङ्कुरम् एकेडेमीका करिब चार दर्जन क्लबहरूमध्ये ‘टेडएक्स अङ्कुरम् एकेडेमी युथ’ टेडसँग सहकार्य गर्ने एउटा क्लब हो ।

सात जना वक्ताको प्रस्तुति रहेको कार्यक्रममा पहिलो वक्ताका रूपमा ‘कारखाना’का सिइओ पवित्रबहादुर गौतम निम्त्याइएका थिए । उनले ‘द नेसेस्सरी पेन’बारे आफ्ना अनुभव प्रवाह गरेका थिए । उनले मानिसले जीवनमा दुई किसिमका दुःख (पीडा) भोग्ने गरेको बताए । उनका अनुसार एउटा पीडा नियोजित या योजनाबद्ध हुन्छ भने अर्को आकस्मिकरूपमा आइपर्छ ।

यस्तै, अर्का वक्ता प्रजनन् विशेषज्ञ डा. निकिता ढकालले ‘के हामी जैविक घडी रोक्न सक्छौँ ?’ भन्ने विषयमा आफ्ना विचार व्यक्त गरिन् । उनले महिलाको डिम्बाशयले निश्चित उमेरसम्म अण्डा उत्पादन गर्ने र ३० वर्षको उमेरसम्म पुग्दा उत्पादन क्षमतामा ह्रास आई सन्तान उत्पादनमा समस्या आउने बताइन् ।

तेस्रो वक्ताका रूपमा निम्त्याइएका सह–प्राध्यापक तथा ‘बजनेस एन्ड सोसाइटी’ र ‘बिजनेस इथिक्स एन्ड सोसल रेस्पोन्सिबिलिटिस’ का लेखक कृष्ण खनालले ‘छोराछोरीको प्राथमिकतामा परिवर्तन ः छोराबाट छोरीमा’ विषयबारे बोलेका थिए ।

यस्तै, अर्का वक्ता प्रशिक्षक सौरभ लोहनीले ‘द हिडन कस्ट अफ सक्सेस’बारे बोल्दै सफलताको मापन अप्ठेरो हुने बताए । विश्वमा ९० प्रतिशत मानिसले साप्ताहिकरूपमा ५० घन्टा काम गर्ने गरेको र नेपालमा भने करिब ६० घन्टा काम गर्ने पाइएको बताए ।

अर्की वक्ता मनोपरामर्शदाता सुधा सुवेदी ‘अनबिकम ः कमब्याक टु ट्रु यु’बारे बोलेकी थिइन् । उनले आफू १६ वर्षको उमेरमा स्कुल बसचालकबाट यौन हिंसामा परेको तर त्यसलाई सहेर नबसी त्यसविरुद्ध आवाज उठाएको बताइन् ।
यस्तै, अनम्याथ स्कुलका सहसंस्थापक तथा म्याथ स्टोरी टेलर दिवेस भतिजा ‘लेट्स एक्सपिरियन्स म्याथ’ विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रमका अन्तिम वक्ताका रूपमा निम्त्याइएका वक्ता मेरो किनमेलका सिइओ सन्तोष कँडेल ‘डेलिभरिङ ह्याप्पिनेस’ (खुसी बाँड्दै …) शीर्षकमा बोलेका थिए ।

१८ मिनेट वा सोभन्दा कम अवधिका आजको मञ्चमा व्यक्त यी विचारहरू जीवन बदल्न सक्षम रहेको इजाजतवाला मुख्य आयोजककर्ता साजन अधिकारीले बताए । ‘सुनौँ, सिकौँ र नेतृत्व गरौँ’ भन्ने मर्मका साथ आयोजित टेडएक्समा वक्ताहरूले आफूले भोगेका प्रेरणादायी अनुभवलाई विचारको रूपमा प्रस्तुत् गरेका थिए ।

टेडएक्स अङ्कुरम् एकेडेमी युथ विश्वव्यापी संस्था टेडद्वारा निर्धारित नियमहरू पालना गरी स्वतन्त्ररूपले कार्यक्रमहरू आयोजना गर्ने स्थानीय संस्था हो । कार्यक्रममा अर्जुन जी शर्माले सहआयोजककर्ता, कमल केसी र ई. तेजप्रसाद अर्यालले सञ्चार व्यवस्थापक, नवराज रेग्मीले रचनात्मक मामिला प्रमुख र सुमन पौडेल संरक्षकको भूमिका निर्वाह गरेका थिए ।

विभिन्न विद्यालयका हेड ब्याय, हेड गर्ल र एक जना शिक्षक प्रतिनिधि गरी एक सय जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सहआयोजक अर्जुन जी शर्माले गरेका थिए भने कार्यक्रममा स्वागत तथा समापन टिप्पणी संरक्षक प्राचार्य सुमन पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*