भरतपुर । भरतपुर–७, कृष्णपुरस्थित अंकुरम एकेडेमीले आयोजना गरेको ‘एसइई ओपन डिजिटल क्विज कन्टेस्ट’ मा एसओएस हर्मन स्कुल भरतपुरले प्रथम स्थान हासिल गरेको छ ।
एसइई दिएर बसेका विद्यार्थीहरूको सहभागितामा सम्पन्न प्रतियोगिताको एउटा समूहमा तीन जना विद्यार्थी सम्मिलित थिए । कुल १८ वटा टिम सहभागी भएको प्रतियोगिताको ‘सेलेक्सन राउण्ड’बाट १० वटा टिम छानिएका थिए ।
‘सेलेक्सन राउण्ड’बाट छानिएका १० वटा टिममध्येबाट एसओएसका स्पन्दन कँडेल, लिगल गुरुङ र प्रल्हाद दवाडीको टिमले प्रथम स्थान हासिल गरेको थियो ।
त्यसैगरी प्रतियोगितामा अर्किड स्कुल भरतपुरका किञ्जल कँडेल, प्रज्वल अर्याल र रितेश दवाडीको समूहले द्वितीय स्थान हासिल गरेको छ भने समान अङ्क ल्याउँदै ग्लो साइन एकेडेमीका निश्चल थापा, इन्टरनेसनल इङ्गलिस मोडल स्कुलका राजीवकुमार यादव र मोर्डन इङ्गलिस मोर्डन स्कुलका दिया चौधरीकोको टिमले समेत द्वितीय स्थान हासिल गरेको थियो ।
प्रतियोगितामा ‘जनरल राउण्ड’, ‘इजी राउण्ड’, ‘एकाडेमीक राउण्ड’, ‘भिजुअल राउण्ड’, ‘म्युजिकल राउण्ड’ ‘गेम राउण्ड’ र ‘आइ टेस्ट राउण्ड’ गरी छ प्रकारका राउण्डअन्तर्गका प्रश्नहरू सोधिएका थिए । प्रतियोगितामा ‘फोनोफ्रेन्ड’ र ‘अडियन्स’ राउण्डसमेत समावेश गरिएको सहजकर्ता इन्जिनियर तेज अर्यालले जानकारी दिए ।
एसइई परीक्षाको नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राबारे परामर्श प्रदान गर्नसमेत प्रतियोगिताको आयोजना गरिएको ‘क्बिज मास्टर’ डा. आरएन धितालले जानकारी थिए ।