भरतपुर, २६ मंसिर ।
वाल्मीकि शिक्षा सदनको व्यवस्थापन र भरतपुर इङ्लिस स्कूल्स सोसाइटी (बेस) को आयोजनामा बेस स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
बेसका अध्यक्ष इन्द्रेश शाहको अध्यक्षता र प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालको प्रमुख अतिथ्यतामा वाल्मीकि शिक्षा सदनमा सम्पन्न उक्त कार्यक्रम अतिरिक्त क्रियाकलाप प्रमुख खेमलाल पहारीले सञ्चालन गरेका थिए ।
वाल्मीकि शिक्षा सदनका शैक्षिक विभाग प्रमुख प्रकाश सुवेदीको स्वागत मन्तव्य सँगै शुरु भएको अंग्रेजी माध्यममा राखिएको वादविवाद प्रतियोगितामा अङ्कुरम् एकेडेमीकी छात्रा समृद्धि क्षेत्री प्रथम, नारायणी पब्लिककी छात्रा सौरभी हमाल द्वितीय र ग्रीनल्याण्ड पब्लिककी छात्रा विदुसी कार्कीले तृतीय स्थान हासिल गरेका थिए ।
कार्यक्रममा प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्याल, इन्द्रेश शाह, वाल्मीकिका सहायक प्राचार्य दुर्गाप्रसाद घिमिरेलगायतले मन्तव्य राख्दै कार्यक्रमबारे प्रकाश पारेका थिए भने विजेता तीन जनालाई बेसका अध्यक्ष इन्द्रेश शाह, उपाध्यक्ष शिवु केसी र वाल्मीकि शिक्षा सदनका सहायक प्राचार्य दुर्गाप्रसाद घिमिरेले मेडल, शील्डलगायत पुरस्कार वितरण गरेका थिए ।