Hi, How Can We Help You?

Blog

June 15, 2023

अङ्कुरम् एकेडेमीमा `नोर´ र `द अल्केमिस्ट´ पुस्तकको समीक्षा कार्यक्रम

भरतपुर, ३० जेठ ।
अत्यधिक गर्मी बढेपछि लगभग दुई साता जति चितवनका सबैजसो विद्यालयमा बिदा दिइयो । पठनपाठन भएन, विद्यालयहरू बन्द भए । इच्छाकामना गाउँपालिका बाहेक बाँकी ६ वटै पालिकाले सार्वजनिक सूचना आह्वान गरेर विद्यालयमा पठनपाठन नगराउन अनुरोध गरे । तर भरतपुरमा रहेको अङ्कुरम् एकेडेमीले भने विद्यार्थीलाई छुट्टी दिएन । कक्षाहरू नियमितरूपमा सञ्चालन भैरहे ।

एकेडेमीका सहायक प्रधानाध्यापक ओमराज मैनालीले विद्यालयको भौतिकसंरचना पूर्णवातानुकुलित भएको कारणले पठनपाठन गराउन सहज भएको बताए । `हाम्रो विद्यालयका सबै कक्षामा एसि जडान भएको छ । विद्यार्थी बोक्ने बसहरू पनि सुविधाजनक छन्´, सहायक प्रधानाध्यापक मैनालीले भने – `महानगरपालिकाको सूचना आएपछि अभिभावकसँग सल्लाह गर्‍यौं, महानगरको शिक्षा शाखामा पनि कुरा गर्‍यौं । अत्यधिक गर्मीमा पनि हाम्रो विद्यालयमा पठनपाठन गराउन सहज हुने अवस्था रहेपछि हामीले विद्यालय बन्द गरेनौँ ।´

गर्मी अवधिभर विद्यालयले कक्षा बाहिर गरिने अतिरिक्त क्रियाकलाप र सिकाइका कार्यक्रमहरू भने गराएन । कक्षा भित्र रहेर गर्न सकिने गतिविधिमा मात्रै विद्यार्थीलाई सहभागी गरायो । यो अवधिमा विद्यालयले विद्यार्थीलाई कथा लेखनको कार्यशाला गरायो । बाल साहित्यमा कलम चलाउँदै आएका साहित्यकार विजयराज आचार्यले अङ्कुरम् एकेडेमीमा आएर ६ दिनसम्म विद्यार्थीलाई कथा लेख्न सिकाए । कार्यशालाबाट ७० जना विद्यार्थीले कथा लेखेको प्रधानाध्यापक सुमन पौडेलले बताए ।

त्यसैगरी विद्यालयमा मंगलबार पुस्तक समीक्षा कार्यक्रम आयोजना गरिएको छ । कक्षा ९ का विद्यार्थी सहभागी भएको समीक्षा कार्यक्रममा रोशन पोखरेलको उपन्यास `नोर´ र पाउलो कोएल्होको उपन्यास द अल्केमिस्टमा समीक्षा कार्यक्रम गरियो । नोर पुस्तकमाथि ३ वटा समूहले समीक्षात्मक टिप्पणी सुनाए भने द अल्केमिस्ट पुस्तकमा ५ वटा टिमको समीक्षा रहेको थियो । एउटा टिममा ५ जना विद्यार्थी सहभागी थिए । सबैले पालैपालो पुस्तकको परिचय गराउँदै पुस्तकमा उल्लेख भएको विषयवस्तुको बारेमा बोलेका थिए । विद्यार्थीले आफूलाई किताब मन पर्नुको कारण र किताबले दिएको सन्देश बारेमा पनि बोलेका थिए ।

सहभागी विद्यार्थीले रोशन पोखरेलको नोर उपन्यासमा ढुंगे युगको कथा भएको बताए । यो समूहमा शंकर ढकाल, साहिशा केसी, अमृत गैरे, एञ्जल गोतामे र अनुष्का गोतामे सहभागी थिए । ५ जना विद्यार्थीले पालैपालो किताबका बारेमा बोले । `पुर्खाहरूले ढुंगे युगमा संघर्ष गरेर कसरी जीवनयापन गरे भन्ने कुरा पुस्तकमा उल्लेख छ´, उनीहरूले भने । नोर पुस्तकमा प्रेम कहानी, सामाजिक मूल्य मान्यता र रीतिरिवाज पनि समावेश गरिएको उनीहरूले सुनाए ।

त्यसैगरी द अल्केमिस्टमाथि समीक्षा गर्ने एउटा समूहमा विराट बास्तोला, रिति श्रेष्ठ, अशिफ गोले, क्यारेन पौडेल, अविन रेग्मी र प्रत्युषा श्रेष्ठ रहेका थिए । उनीहरूले उपन्यासको प्रमुख पात्र सान्टियागोको भूमिकाबारे चर्चा गरे । सान्टियागो भेंडा गोठालो हो । उसलाई संसार घुम्न रहर छ । भेंडा गोठाला भएकै कारण उसलाई घुमफिर गर्न पनि सजिलो हुन्छ । स्पेनमा रहेको उसले सपनामा इजिप्टको पिरामिड पनि देख्छ । पिरामिड मुनि प्रशस्तै असर्फी भएको पनि देख्छ । उक्त असर्फी लिन उ इजिप्ट पुग्छ, तर वास्तविक असर्फी इजिप्टमा नभएर उ बसेकै ठाउँमा हुन्छ । विद्यार्थीहरूले हामी जहाँ छौँ, जे गर्दै छौँ त्यसैलाई निरन्तरता दिन सके जीवनमा सफलता आइलाग्ने सन्देश यो पुस्तकमा भएको
बताए ।

कार्यक्रमलाई सोही कक्षाकी छात्राद्वय अविप्स्या कार्की र आरोही खनालले सहजीकरण गरेका थिए । पुस्तक समीक्षा कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित कवि, लेखक ईश्वर कँडेल र अर्का अतिथि सिर्जन अविरलले विद्यार्थीको प्रस्तुति सुन्न पाउँदा खुसी लागेको बताए । विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराइरहेमा उनीहरूमा प्रतिभाको विकास हुँदै जाने प्रमुख अतिथि कँडेलले बताए ।

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">html</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*